कैलाली-भारतको उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिँदैछ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध र आजराति १२ बजेदेखि शुक्रबार बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो ।
पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ। यस्तै दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाँध खोलिनेबारे जानकारी गर्दै आइरहेको छ ।
यसअघि गत असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।