मार्तडी-अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि बाजुराका स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका-४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए।
नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उनले बताए। बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिए। जिल्लाका आधा दर्जन पुल जोखिममा परेका बताइएको छ।
वाई बाँधु , गोत्री साप्पाटालगायत स्थानका पुल जोखिममा रहेकाे हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी दिए। साेही कारण स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ। नदीमा बनाइएका पुल जीर्ण बन्दै गएका छन् । नदीमा पानीको बहाव नाप्ने यन्त्र नहुँदा अध्ययन गर्न पनि असहज भएको बताइएको छ। कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।