काठमाडौं- नेपाल उद्योग परिसंघका पदाधिकारीले अर्थमन्त्री डा युवराज खतिवडासँग भेटेर नयाँ मौद्रिक नीतिले व्यवसायीलाई राहत महसुस गराएको बताएका छन्। बुधबार अर्थमन्त्री खतिवडासँगको भेटमा परिसंघ अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले मौद्रिक नीतिले राहत मिलेको बताएका हुन्।
टोलीले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७७/०७८ को बजेट र सो बजेट कार्यान्वयनलाई सहयोग पुग्नेगरी हालै आएको मौद्रिक नीतिका धेरै व्यवस्थाहरुबाट निजी क्षेत्रले राहत महसुस गरेको उल्लेख गरेको छ।
बजेटले ल्याएका धेरै पक्ष राम्रो भएपनि कार्यान्वयनमा समेत तदारुकता देखाउनुपर्ने तथा बजेट र मौद्रिक नीतिमार्फत् सम्बोधन भएका कतिपय विषयमा सम्बन्धित निकायले स्पष्टसँग कार्यान्वयन गर्न नसकेको विषय अर्थमन्त्री समक्ष प्रस्तुत गरेको थियो।
बजेटमार्फत् उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युतको माग शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाएकोमा त्यसलाई कार्यान्वयन नगरी विद्युत प्राधिकरणबाट पहिलेकै बिल जारी भई आएकोले उद्योगहरूलाई थप मर्का परेको टालीले बताएको थियो।
निर्यातजन्य उद्योगहरूलाई दिइने 'बोन्डेड वेरहाउस'को सुविधा, सामाजिक उत्तरदायित्वको खर्चकट्टी गर्ने सम्बन्धमा देखिएको समस्याबारे पनि अर्थमन्त्रीसँग छलफल गरेको परिसंघले जनाएको छ।
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाई थप रोजगारी सिर्जना गर्न र स्वदेशी उत्पादनमा गौरव गर्दै यसको प्रवर्द्धन गर्नको लागि ‘मेक इन नेपाल’को अवधारणालाई अगाडि बढाएको अर्थमन्त्रीसमक्ष बताएको छ। यसले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने परिसंघको धारणा छ।
अर्थमन्त्रीबाट उद्योगी व्यवसायीका मागहरूलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक माग सम्बोधन गर्दै जाने आश्वासन पाएको परिसंघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।