प्रतीकात्मक तस्बिर
कालीकोट- कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा परी ९ जनाकाे मृत्यु भएकाे छ। पहिराेमा परी एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरैले जानकारी दिए।
नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ बागामा गएराती गएको पहिरोमा ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा सात जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गंगे बुढासहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा र १८ वर्षीया विमला बुढा रहेको प्रजिअ गैरेले नेपाल लाइभसँग भने।
बिमलाको उपचारका क्रममा मृत्यु भएको हो। पहिरोमा परेर गम्भीर घाइते भएकी विमलाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो।
गंगे बुढाको घरमा गएराती ११ जना रहेका थिए। उनीहरूमध्ये ४ जना भने भाग्ने क्रममा घाइते भएका छन्। उनीहरु चारैजनालाई हेलिकोप्टरबाट उद्धार गरी बाँकेस्थित भेरी अस्पताल लैजाने तयारी गरिएको छ।
यस्तै, नरहरीनाथ ४ माझगोठमा पहिरोले घर भत्किदा ६५ वर्षे बाले बुढा र उनकी श्रीमती ६२ वर्षीया मन बुढाको मृत्यु भएको छ। पहिरोले घर बगाउने क्रममा भाग्दा चार जना घाइते भएको गैरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।