काठमाडौं– रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म २ करोड ५० लाख रुपैयाँ खर्च भएको छ।
२०७२ को गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९ सय रुपैयाँ लाग्ने अनुमान भए पनि करीब ७ करोड रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको काठमाडौं महानगरपालिकाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए।
स्थानीय बासिन्दा, पुरातत्व विभाग र महानगरपालिकाकाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ। यस किसिमको तयारीसँगै हालसम्म करीब २ करोड ५० लाख रुपैयाँ खेर गएको छ। २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण सुरु गरेको थियो।
महानगरपालिकाले आगामी जेठ १ गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम सुरु गर्ने जनाएको छ।
जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ। उनले भने,‘अन्य काम सुरु गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो।’ स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन्।
दुई वर्ष लगाएर १७२७ मा बनाइएको पोखरी प्रताप मल्लले आफ्ना कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएका इतिहासमा उल्लेख छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।