काठमाडाैं- काेराेना भाइरसका संक्रमित बढेपछि स्याङ्जामा अत्यावश्यक वस्तुबाहेकका सेवा प्रवाहमा रोक लगाइएकाे छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्याङ्जाले सूचना जारी गरेर साउन १३ देखि १० दिनसम्म जिल्लाभर अत्यावश्यक वस्तुबाहेकका सेवा प्रवाह नगर्न नगराउन भनेकाे हाे।
सूचनामा भनिएकाे छ, 'भारत र तेस्रो मुलुकबाट आए बाहेकका व्यक्तिहरुलाई पनि जिल्लामा कोहोना भाइरस संक्रमण भएको सन्दर्भमा यसको रोकथाम र नियन्त्रणका लागि थप सजगता र सतर्कता अपनाउनु आवश्यक हुँदा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार हाललाई मिति २०७७ श्रावण १३ देखि १० दिनसम्म जिल्लाभर तोकिएका अत्यावश्यक वस्तु र सेवा बाहेकका सेवा प्रबाह नगर्न नगराउन सबैमा जानकारी गराइन्छ।'
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र अत्यावश्यक वस्तु र सेवा प्रवाह गर्न र आ-आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामाजिक/भौतिक दूरी कायम गर्न पनि संकट व्यवस्थापन केन्द्र स्याङ्जाले आग्रह गरेकाे छ। साथै मास्कको अनिवार्य प्रयोग गरी कोरोना रोकथाम र नियन्त्रणमा सदा झै सजग रही सहयोग पुर्याउनु हुन पनि केन्द्रले जिल्लावासीमा अनुरोध गरेकाे छ।

'यस विपरीत हेलचेक्र्याँइ गरी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा असहयोग गर्ने गराउनेलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,' सूचनामा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।