सांकेतिक तस्बिर
कैलाली-बाजुराकाे बुढीगंगा नगरपालिकानजिकै रहेको गुइगाड खोलामा बाढी आउँदा बुढीगंगा नदी थुनिएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पानीको बहाव बढेसँगै खोलामा आएको बाढीले नदी थुनिएको स्थानीय बताए।
गुइगाड खोला बढेपछि बुढिगंगा नदी ७५ प्रतिशतभन्दा बढी थुनिएको स्थानीय भरत बुढाले बताए। नदी थुनिन थालेपछि बाजुरा जिल्लाका बुढीगंगा, त्रिबेणी नगरपालिकाकालगायत अछाम जिल्लाका साँफेबगर नगरपालिकाका दर्जनौं बस्ती डुबानको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक टंकप्रसाद भट्टराईले बताए।
नदी थुनिएपछि बाजुरा र अछामका दर्जनौ बस्ती तथा सयौं रोपनी खेतियोग्य जमिन बगर बन्ने प्रहरी प्रमुख भट्टराईले बताए। बाजुरा र अछामको साँफेबगरसम्मका स्थानीयलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।