काठमाडौं- सोमबार सेयर बजार तीव्र उतारचढावसहित २.६२ अंकले घटेको छ। कारोबार सुरु भएको २० मिनेटको अवधिमा ८ अंकले सुधार देखिएको बजार एकाएक घट्न थाल्यो। घट्दा ११ अंकसम्म तल झरे पनि कारोबारको अन्तिम समयमा केहि समालिन खोज्दा दुई अंकले मात्रै घटेर १४६२.४८ अंकमा रोकियो।
पछिल्लो समय सुधार भएको बजारबाट नाफा बुक गर्ने क्रमका विस्तारै सेलिङ प्रेसर आउने गरेको छ। अस्थिर मनोविज्ञानका कारण लगानीकर्ता बजार हरियो देखिने वित्तिकै सेयर उठाउने र रातो देखिने वित्तिकै भएको सेयर बिक्री गरी हाल्ने प्रवृत्तिका कारण एक दिनकै कारोबार अवधिमा उतारचढाव देखिएको छ।
सूचकमा तीव्र उतारचढाव हुँदा पनि एक अर्ब ८१ करोड रुपैयाँको खरिद बिक्री भएको छ। जम्मा १८७ वटा कम्पनीको कारोबार हुँदा ६० वटा कम्पनीको मूल्य बढेको छ भने ८९ वटाको घटेको साथै १७ वटाको मूल्य स्थिर छ।
विकास बैंक, उत्पादन तथा प्रशाेधन, अन्य र माइक्रोफाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सूचक घटेका छन्। कम्पनी नै बन्द गरेर लिक्वीडेसनको प्रक्रियामा अगाडि बढेको श्रीराम सुगर मिलको समेत कारोबार भएको थियो। सुरुमा कारोबार भएपनि पछि कारोबार रोक्का गरिएको थियो। सबैभन्दा धेरै नेपाल लाइफको १७ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।