काठमाडौं– अविरल वर्षाका कारण पहिरो र सडक कटानको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख दुई सडकखण्डमा सवारीसाधन ‘होल्ड’ गरिएको छ।
बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्।
बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमै रोकिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्न सक्ने भन्दै प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ।
यता, काठमाडौं उपत्यकाबाट बाहिरिने नागढुंगा–नौबिसे सडकखण्डमा पनि बिहीबार साँझ ८ बजेदेखि सवारीसाधन रोकिएका छन्। यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधनलाई नागढुंगा क्षेत्रमा रोकिएको हो।
वर्षाका कारण पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन होल्ड गरिएको जनाइएको छ। नागढुंगा–नौबिसे सडक हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत जिल्लातर्फ जाने लामो दूरीका बस तथा मालवाहक सवारीसाधनसमेत रोकिएका छन्।
सवारीसाधन रोकिएपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्। वर्षाका कारण सडकखण्डमा थप सवारी चाप बढ्न सक्ने भएकाले प्रहरीले यात्रुलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।