काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परोपकारी संस्था रेडक्रसमा औपचारिक रुपमा दलीय भागबण्डालाई प्रवेश गराउन लागेका छन्।
नियमित समयमा महाधिवेशन गर्न नसकेको वर्तमान सञ्जीव थापाको कार्यसमितिलाई प्रतिस्थापन गरी सरकारले तदर्थ समिति बनाउन लागेको छ। थापाको कार्यसमिति भंग गरी सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल निकट व्यक्तिहरुलाई नयाँ समितिमा स्थान दिन लागिएको हो। मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकमा दलीय भागबण्डाका आधारमा तयार गरिएको सूची पेश गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।
नेकपा निकट नेत्र तिम्सिनालाई तदर्थ समितिको सभापति बनाउन लागिएको छ। मोरङका तिम्सिना अधिकारकर्मीका रुपमासमेत परिचित छन्। तिम्सिना देशभर काटिएका रुख र त्यससँग सम्बन्धित अनियमितता छानबिन गर्न सरकारले गठन गरेको वन प्राविधिकहरुको उच्चस्तरीय छानबिन समितिको संयोजक समेत हुन्।
संस्थाको उपाध्यक्षमा कांग्रेस निकट विश्वकेशर मास्केलाई स्थान दिइएको स्रोतले बताएको छ। सभापतिसहित ५० प्रतिशत नेकपा निकटलाई र महामन्त्री, कोषाध्यक्षसहित ५० प्रतिशत कांग्रेसका लागि छुट्याइएको छ।
३० जनाभन्दा बढी रहने गरी गुरुङले तदर्थ समिति बनाउन लागेका हुन्। कांग्रेसकाे कोटाबाट तदर्थ समितिमा अटाउने १४ जनाको नाम मन्त्री गुरुङले प्राप्त गरेका छन्। भक्तपुरमा जग्गा खरिदको अनियमिततामा संलग्न भनिएका भक्तपुर रेडक्रसका सभापति मनोज थापालाई कांग्रेसबाट तदर्थ समितिमा स्थान दिन लागिएको छ। कांग्रेसबाट स्थान पाउनेहरुको तय भएपनि नेकपाबाट आकांक्षीको संख्या धेरै भएकाले अन्तिम सूची बनाउन गुरुङले सकेका छैनन्। तदर्थ समितिमा राख्न लागिएका व्यक्तिहरु समाज कल्याण परिषद्ले यसअघि छानबिनका क्रममा दोषी देखिएका समेत रहेका छन्।
मन्त्री गुरुङले गठन गरेकाे छानबिन समितिले दिएकाे सुझाव विपरीत नयाँ तदर्थ समिति बनाउन लागिएकाे हाे। दातृ निकायबाट आएको रकममा खर्चको अनुमति नलिएको, गोदाम घर निर्माणका लागि जग्गामा अनियमितता, रक्तसञ्चार भवन निर्माणमा आर्थिक अनियमितता लगायतका दर्जनौं प्रश्नसहित सरकारले थापा नेतृत्वको कार्यसमितिलाई स्पष्टिकरण सोधेको थियो। थापाले बुझाएको स्पष्टिकरणबाट असन्तुष्ट मन्त्री गुरुङले तदर्थ समिति बनाउन लागेका हुन्।
गुरुङको मन्त्रालयमातहत रहेको रेडक्रस समाजकल्याण परिषद्मा दर्ता भई सञ्चालित संस्था हो। आयकर विवरण बुझाउन नसक्दा रेडक्रसको नविकरणसमेत हुन सकेको छैन। परोपकारी संस्थामा दलीय भागबण्डा भित्र्याउँदा दीर्घकालीन असर गर्ने मोरङ शाखाका पूर्वसभापति मनोजप्रसाद उपाध्यायले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।