काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई १०० बराबर ७० को अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको छ। साउन १० गते बसेको सञ्चालक समितिको बैठकले गाभ्ने विशेष प्रस्ताव पारित गरेको हो।
मर्जर प्रक्रियामा जाने लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको हुने व्यवस्थाअनुसार स्वरोजगारले काठमाडौंको नागार्जुनमा केन्द्रीय कार्यालय राख्ने भएको छ। यसअघि संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको थियो।
दुई संस्था एक भएपछि कायम हुने पुँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ। मर्जरपश्चात पनि स्वरोजगारको सञ्चालक समिति तथा प्रमुख कार्यकारी उही रहने र उनीहरुको पदावधि कायम नै रहनेछ।
हाल स्वरोजगार लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३४ करोड १६ लाख रुपैयाँ रहेको छ भने जनकपुरको ३ करोड १६ लाख रुपैयाँ रहेको छ। स्वाप रेसियोका आधारमा जनकपुरको २ करोड २१ लाख रुपैयाँ स्वरोजगारमा थपिने छ। मर्जरपछि स्वरोजगारको चुक्ता पुँजी ३६ करोड ३७ लाख रुपैयाँ पुग्ने छ।
विशेष साधारणभाले पारित गरेको सतप्रतिशत हकप्रद निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ७२ करोड ७४ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।