काठमाडौं- बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि सरकारले जारी गरेका ट्रेजरी बिल 'सरकारी ऋणपत्र'मा आकर्षण देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले साउन ५ गते जारी गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा माग भन्दा ७ गुणा बढी आवेदन परेको हो। २८ दिन अवधिको उक्त ऋणपत्रमा ३७ अर्ब ७५ करोड रुपैयाँको लागि आवेदन परेको थियो।
त्यस्तै सोहि दिन जारी गरिएको तीन महिना अवधिको दुई करोड रुपैयाँको ट्रेजरी बिलमा दुई अर्ब २० करोड रुपैयाँको लागि आवेदन परेको थियो। पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएको छ। तरलता बढ्दै गर्दा बैंकहरुले कर्जा तथा निक्षेपको व्याजदर पनि घटाइरहेका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार पनि ९१ दिन अवधिको १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउन सार्वजनिक सूचना जारी गरेको छ। राष्ट्र बैंकले सोमबार तीन बजे बोलकबोल गर्ने छ। बैंकमा पैसा थुपारेर राख्नुभन्दा बैंकहरुले आफूसँग भएको पैसा यस्ता ऋणपत्रमा लगानी गर्छन्।
सहज रुपमा कर्जा जाने अवस्थामा सरकारले जारी गरेका ऋणपत्र बिक्री हुँदैन। तर, पछिल्लो समयमा सरकारले जारी गरेका ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्दै आएको छ। चालु आर्थिक वर्षको लागि आवस्यक रकम जोहो गर्न सुरुवाती अवस्थादेखि नै ऋणपत्र बिक्री गर्न सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।