काठमाडौं- दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढ्न थालेको छ। लकडाउन खुला भएसँगै ब्रोकर कार्यालय पनि खचाखच देखिन थालेका छन्। कारोबार संख्याको हिसाबले अनलाइन प्रयोगकर्ता बढी भएपनि दोस्रो बजारमा आएर खरिद बिक्री गर्नेहरु पनि बढ्न थालेका हुन्।
अधिकांश ब्रोकर कार्यालयमा नयाँ आवेदनको लागि आउनेको संख्या बढिरहेको ब्रोकरहरु बताउँछन्। नेप्सेले अनलाइन प्रयोग बढाउनका लागि आइतबार सम्पूर्ण ब्रोकर कार्यालयलाई सहायता कक्ष राख्न निर्देशन दिएको छ। बजार सुधार हुने हल्लाले सेयर खरिद गर्नेको चासो बढ्न थालेको हो।
बैंकमा तरलता विस्तारै सहज हुँदै गर्दा बैंकहरुको पैसा सेयर बजारमा आउन थालेको हो। बैंकहरुले हरेक दिन व्याजदर घटाइरहेका छन्। घट्दो व्याजदर र तरलता थुप्रिदा यसको प्रत्यक्ष असर दोस्रो बजारमा परेको छ।
साताको पहिलो दिन सेयर बजार २२.४० अंकले सुधार भएको छ। नेप्से सूचक एकै दिन १.५५ प्रतिशतले सुधार भएर १४६५.११ अंकमा रोकिएको छ। आइतबार १९० वटा कम्पनीको सेयर कारोबार हुँदा १२० वटा कम्पनीको सेयर मूल्यमा सुधार भएको छ भने ३३ वटाको मूल्य घटेको छ।
सबैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्सको ९.९७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै वेष्ट फाइनान्सको ७ रुपैयाँले तल झरेर आधार मूल्यमा आएको छ। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ। समग्र दोस्रो बजारमा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ।
लगानीकर्ताको सहभागिता बढेसँगै दोस्रो बजारमा कारोबार रकम पनि विस्तारै सुधार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।