काठमाडाैं- उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ।
दक्षिण काेरियाकाे सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन्। सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठकमार्फत् संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका हुन्।
नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागू गर्न आदेश दिए। आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो।
(रासस-एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।