काठमाडौं-नेपाल स्टक एक्सचेन्जले सम्पुर्ण ब्रोकरहरुलाई आफ्नो डाटा सेन्टर र प्राविधिक जनशक्ति बढाउन निर्देशन जारी गरेको छ।
दोस्रो बजारमा ४० हजारभन्दा धेरै अनलाइन प्रयोगकर्ता भैसकेको सन्दर्भमा नेप्सेले तोकिए बमोजिमको हार्डवेयर तथा सफ्टवेयरयुक्त डाटा सेन्टरको क्षमता बृद्धि गर्नुपर्ने नेप्सेले जनाएको छ। साथै प्राविधिक जनशक्ति निरन्तर रुपमा चुस्त दुरुस्त कायम राख्न सम्पुर्ण ब्रोकरहरुलाई निर्देशन जारी गरेको छ।
नट्सबाट सहज रुपमा कारोबार गराउन लगानीकर्ताको नाम ठेगाना, तीन पुस्ते, नागरिकता नम्बर, डिम्याट नम्बर, बैंक खाता निक्षेप खाता यकिन रुपमा विवरण राख्ने प्रवन्ध मिलाउन अनुरोध गरिएको छ। लगानीकर्तालाई आधाभूत प्रशिक्षण दिन तथा सहायता कक्षको व्यवस्था गर्न नेप्सेको निर्देशन छ। अनलाइन कारोबार सुरु गर्नु अगाडि लगानीकर्तालाई युजर नेम र पासवर्ड लिने प्रकृयाँबाट जानकारी दिने व्यवस्था मिलाउन भनिएको छ।
लगानीकर्ताको फोन तथा इमेललाई ब्रोकरले वास्ता नगरेको गुनासोपछि नेप्सेले यस्तो गुनासो अब उपरान्त आउन नहुने चेतावनी दिएको छ। प्रचलित ऐन नियम कानुनअनुसार तोकिएका व्यक्तिबाट धितोपत्र कारोबार गराउन निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।