काठमाडौँ-ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ।
धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ। यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ। श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो ।
पूजामा काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगर प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण/पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ।
सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। २०७५ वैशाखबाट पुनःनिर्माण सुरु भएको हो। अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे।
उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिए। 'सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ', उनले भने, 'जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।