धनगढी- धनगढी उपमहानगरपालिकाका एक कर्मचारीको कुर्सीमा दिसा भेटिएको छ। बिहीबार बिहान ती कर्मचारीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि त्यसबारे छानबिन गर्न छानबिन समिति नै गठन भएको छ।
शाखा अधिकृत तहका ती कर्मचारी बिहान कार्यालयको कुर्सीमा पुग्दा दिसा भएको थाहा पाएका थिए। तर दिसा कसले राख्यो भन्ने कुरा अहिलेसम्म खुलेको छैन। त्यसको छानबिन गर्न शुक्रबार उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
समितिलाई सात दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद दिइएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रुपमा उक्त सन्दर्भमा वास्तविकताबारे अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरेको र सबै विवरण समितिले छानबिन गरेपछि मात्रै बाहिर आउने बताए।
आफ्नो कुर्सीमा दिसा भेटिएपछि आफूले कार्यालय प्रमुखलाई जानकारी गराएको ती कर्मचारीले नेपाल लाइभलाई बताएका छन्। आफूलाई प्रलोभनमा पार्न नगरपालिका भित्रकै केही व्यक्ति लागीपरेको तर आफूले उनीहरूको स्वार्थअनुसारको काम नगरेपछि बदनाम गराउनका लागि आफ्नो कुर्सीमा दिसा राखिदिएको ती कर्मचारीको आरोप छ।
*नोट : प्रकाशित अघिल्लो सामग्री केही त्रुटि भएकाले संशोधन गरिएको छ- सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।