काठमाडौं-अविरल वर्षाका कारण अरनिको राजमार्गका चार ठाउँमा पहिरो गएका छन्। बर्सेनी सुनकोसी नदीले कटान गर्ने समस्या बेहोरिरहेको यो राजमार्ग पहिरो जाने तथा सडक भासिने गर्दा अवरुद्ध हुँदै आएको छ।
राजधानी जोड्ने कोठे–बलेफी खण्डको कोठेभीरमा सडक दुई सय मिटर भास्सिएको छ। उक्त भीरमा वर्षौंदेखि एकतर्फीमात्रै ट्रयाक थियो। त्यही ट्रयाक पनि नदीले कटान गरेपछि भास्सिएको हो। यस्तै, बाह्रबिसेनजिकै महभीरमा पनि नदीले सडक कटान गरेको छ। केही दिनदेखि सो खण्डमा दैनिक रुपमा सडक भासिन थालेको थियो। त्यस्तै, जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोसी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ।
सुकुटेदेखि चेहेरेसम्मको खण्डमा पनि पहिरो आएर सडक अवरुद्ध भएको छ। राजमार्गबाट गाउँ जोड्ने ग्रामीण सडकबाट पहिरो आएर लेदो र पहिरो थुप्रिन थालेको हो। सडकमाथिबाट पहिरो र लेदो आउँदा सवारी साधन पुरिने खतरा बढेको छ।
सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसिनरी वाल, प्लम्ब ढलान, जाली गा¥होजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिँदै जाने क्रम देखिएको हो।
सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताए। माथिबाट पहिरो, माटोको लेदो र ढुंगा आउँदा सडक अवरुद्ध हुँदै आएको उनको भनाइ छ।
राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।