काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको पानी बेच्ने हनुमानस्थानस्थित भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भाटभटेनीबाट गत बुधबार पानी किनेको थियो। तर भाटभटेनीले बेचेको पानी १ महिनाअघि नै म्याद गुज्रिएको थियो। उपभोग गर्न मिल्ने मिति एक महिनाअघि नै गुज्रिएको पानीका बोतल उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्री लेखराज भट्टको टेबलमै पुगेको थियो।
म्याद गुज्रेको पानी त्यसरी मन्त्रीकै टेबलमा आएपछि मन्त्रालयले भाटभटेनी सुपरमार्केटलाई कारबाही प्रकृया थाल्न नमुना पानीको बोतल र खरिद बिलसहितका विवरणहरु विभागलाई पठाएको थियो। मन्त्रालयबाट विवरण आएपछि शुक्रबार ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागका अनुसन्धान अधिकृत ध्रुव खनालले जनाए।
‘कारबाहीका लागि मन्त्रालयबाटै आएको हो। त्यसै आधारमा हामीले अनुगमन र कारबाही गरेका हौं’ उनले भने।
विभागले गत वैशाखमा टंगालस्थित भाटभटेनीलाई उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य असुलेको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। त्यो बेला भाटभटेनीले १२० रुपैयाँ पर्ने लाखमरी लाई दोब्बर मुल्यमा बेचेको भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।