काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।
शुक्रबार आयोगका कार्यालय इटहरीबाट खटिएको टोलीले ५ लाख ५३ हजार रूपैयाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) साहले घुस/रिसवत वापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना र उजुरीको आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोही कार्यालयको सवारी साधनमा लुकाई छिपाई राखेको अवस्थामा साह र उनकी श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार रूपैयाँ फेला पारी नियन्त्रणमा लिइएको अधिकारीले बताए।
कोशी गाउँपालिका- ८ सुनसरीबाट उनीहरुलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अधिकारीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।