महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौं रुपैयाँ लुटिएको छ।
शनिबार बेलुकी गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद नौ लाख रुपैयाँ र एक थान मोबाइल लुटेको छ।
बर्दिबासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो।
जिल्लाको औरही, गौशाला लगायतका बजारबाट पैसा संकलन गरी ज१च ८९९ नंको बोलेरोमार्फत साँझको समयमा बर्दिवासतर्फ जाँदै गरेको अवस्थामा बीच जंगलमा पुगेपछि सो लुटपाट भएको सशस्त्र प्रहरी बेसक्याम्प रामनगरले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइरालाले दिएको जानकारी अनुसार सूर्य नेपालको बर्दिवासस्थित डिलरबाट खटिएका कर्मचारी उद्धव पराजुलीसँग मोटरसाइकलमा आएका केही अपरिचित समूहले गाडी रोकी लुटपाट गरेको हो।
यता घटनाको सम्बन्धमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।