काठमाण्डौं- सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन्। नेपालका लागि बंगलादेशकी राजदूत स्फिबिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाइ भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गए। राजदूत आफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदैछिन्।
भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले उनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिए। नेपाल र बंगलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को-अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
मन्त्री पुनले बंगलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गरे। ‘नेपालबाट अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बंगलादेश गएका छन्। यसले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार र सुदृढ बनाउन सहयोग पुगेको छ’, मन्त्री पुनले भने। मन्त्री पुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गरे।
जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरे। ‘नेपाल र बंगलादेशका बीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ’, राजदूत साम्सले भनिन्, ‘तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन।’ राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै आर्थिक-सामाजिक चुनौतीको मिलेर सामना गर्नुपर्ने उल्लेख गरिन्।
मन्त्री पुनले कार्यकाल सकेर फर्किए पनि भ्रमणका लागि नेपाल आउन आग्रह गरेका थिए। जवाफमा राजदूत साम्सीले नेपाल आफ्नो दोश्रो घर भएकाले आइरने जवाफ दिइन्। नेपालका धेरै रमणीय स्थान घुमेको स्मरण गर्दै उनले सगरमाथाआधार शिविर, मुस्ताङ र लुक्लाजाने चाहना पूरा नभएकाले अर्को पटक आउने जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।