काठमाडौं-कोभिड-१९ ले अन्य क्षेत्रमा नकारात्मक प्रभाव पार्दा बिमा कम्पनीहरुको आम्दानी भने बढेको छ। जीवनबिमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पहिलो बिमा शुल्क आर्जन १९.१८ प्रतिशतले बढाएका छन्।
जीवनबिमा कम्पनीहरुले असार मसान्तसम्ममा ९४ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्। गत वर्षको यही अवधिमा कम्पनीहरुले ७९ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेका थिए। यस अवधिमा कम्पनीहरुले ७९ लाख ५७ हजार वटा पोलिसी जारी गरेका छन्।
सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २८ अर्ब ३९ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको छ। नेपाल लाइफको मात्रै ३०.१८ प्रतिशत हिस्सा रहेको छ। कम्पनीले १३ लाख ७ हजार ६१६ वटा पोलिसी बिक्री गरेको छ।
दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ अर्ब ३१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले ७ लाख ६५ हजार वटा पोलिसी बिक्री गर्न सकेको छ।
पछिल्लो समय लाइसेन्स पाएका १० बिमा कम्पनीमध्ये युनियन लाइफ बिमा शुल्क आर्जनका हिसाबले ५ औ स्थानमा छ। कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै युनियनले तीन लाख ६० हजार वटा जीवनबिमा पोलिसी बिक्री गरेको छ।
सबैभन्दा भन्दा कम बिमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ। कम्पनीले ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो। बिमा शुल्क आर्जन बिमा कम्पनीको विशुद्ध व्यावसायिक आर्जन हो।
जीवनबिमा कम्पनीले आर्जन गरेको बिमा शुल्क
निर्जीवन बिमा शुल्क आर्जन
निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा २५ अर्ब ८७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। राष्ट्रिय बिमा कम्पनीबाहेक अन्य बिमा कम्पनीले गत वर्षमात्रै २२ लाख ६ हजार बिमा पोलिसी जारी गरेका छन्।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले तीन अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्षमात्रै २ लाख ४९ हजार वटा बिमा पोलिसी बिक्री गरेको छ। त्यस्तै दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। ६ वटा बिमा कम्पनीको बिमा शुल्क आर्जन चुक्ता पुँजीभन्दा पनि कम छ।
निर्जीवन बिमा कम्पनीले आर्जन गरेको बिमा शुल्क
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।