काठमाडाैं-सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन्।
सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाे भन्दै निजी तथा आवासीय विद्यालयका छाता संस्थाले यही साउन १ गतेदेखि अनलाइन कक्षा स्थगन गराएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालनको कार्यविधि तयारीसहित सरोकार पक्षसँग बुधबार छलफल गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), नेपाल शिक्षक महासङ्घ, संस्थागत विद्यालय शिक्षक युनियन र अभिभावक महासंघसँग परामर्श गरेको थियो।
शिक्षक र अभिभावकले पनि निजी विद्यालयलाई अनलाइन कक्षा नरोक्न दबाब दिएका थिए। सरकारले जारी गरेको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका लागि गत असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक प्रणालीबाट पढाइ भइरहेको छ।
सरकारले आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना क्याम्पस खोल्न थालेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।