पर्वत-पर्वतको जलजला गाउँपालिका-३ बारीबेनीमा करिब १३ करोड रुपैयाँ लागतमा निर्माणाधीन बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ ।
बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुर्याएको छ। खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताए। आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए।
विसं २०७२ देखि निर्माण सुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ। आयोजनाको कूल लागत रु १२ करोड ४३ लाख ७४ हजार रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् । कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पुर्याउने आयोजनाको लक्ष्य छ ।
पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पुर्याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताए। जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पुर्याउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पुर्याएकाले व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।