काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ गते देखि खुल्ने उडान कसरी र दैनिक कतिवटा गर्ने भन्ने विषयमा अध्ययन कमिटि बनाएको छ।
प्राधिकरणले विमानस्थल कार्यालयका प्रवक्ता देबचन्द्र लाल कर्णको संयोजकत्वमा सबै एयरलाइन्स कम्पनीको प्रतिनिधित्व हुने गरी कमिटी बनाएको हो।
प्राधिकरणले जारी गरेको सुरक्षा निर्देशिका र वायुसेवा कम्पनीहरुको सुरक्षा निर्देशिका पूर्ण रुपमा पालना गर्ने गरी अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान कसरी र दैनिक कतिवटा तथा कुन सेक्टरबाट उडान सुरु गर्ने विषयमा अध्ययन गर्ने कमिटि बनाएको प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
कमिटिलाई एक साताको समय दिइएको छ। अब कमिटिले तयार पार्ने रिपोर्टका आधारमा उडान सुरु हुने क्षेत्रीले बताए। तर, अहिले नै दैनिक अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ यति नै उडान गर्ने भन्ने विषयमा भने यकिन नभइसकेको उनको भनाइ छ।
सरकारले चैत ११ गतेदेखि बन्द गरेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाट सुरु गर्ने निर्णय गरेसँगै प्राधिकरणले छलफल थालेको हो। प्राधिकरणले पहिलो चरणमा बढीमा २५ प्रतिशत उडान गर्ने तयारी गरेको छ। पहिलो चरणमा प्राथमिकताको सेक्टरबाट उडान हुने भएको छ। सबै सेक्टरमा एकै पटक उडान सुरु भने नहुने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।