काठमाडाैं-झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज करिब आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ।
पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तिनमा यात्रु कममात्रै देखिएका छन्। अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासंघले जनाएको छ। सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासंघले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए ।
अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। उनका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । सिटालले भने, 'सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ ।'
सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने माग यातायात व्यवस्था विभागसँग गरेका छन्। महासचिव सिटौलाले भने, 'कोही व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नु हुँदैन ।'
यसअघि सरकार र व्यवसायीबीच कोरोना बिमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बिमांक रकम उपलब्ध गराउने सहमति भएको थियो । त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारका तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकका लागि आवश्यक मास्क, पञ्जा, स्यानिटाजर र पिपीई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।