सुर्खेत-प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ। गृहमन्त्रालयले कोभिड-१९ को संक्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाइकन बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो।
निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। 'असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्य रुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरिएकाेमा अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारबाही गरेका हाैैं', उनले भने। उनका अनुसार जरिवानाबाट कूल एक लाख पाँच हजार ९०० रुपैयाँ राजस्व संकलन भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कविना हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइएको बताए। कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।