काठमाडौं- पानी उद्योगहरुले शुद्धीकरणबिनै खोलाको पानी सिधै जारमा भरेर पठाउने गरेको भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा पानी फिल्टर गर्ने उपकरणहरु लेउ लागेर कुहिएको तथा भर्ने ठाउँमै जुठो फोहोर भेटिएपछि दुईवटा पानी उद्योगलाई सिल गरिएको छ।
विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा बुढानिलकण्ठका दुईवटा पानी उद्योगहरु सन्देश मिनरल वाटर र अक्वा स्टिम मिनरल वाटर कम्पनीले पानी उत्पादनका लागि अपनाउनुपर्ने न्युनतम मापदण्ड पनि नअपनाएको भन्दै ती कम्पनीको कारोबार बन्द गरी व्यवसायस्थल सिल गरेको हो।
विभागका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार न्युनतम मापदण्ड पनि पुरा नभएको भेटिएपछि कम्पनीलाई सिल गरेर थप अध्ययनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जिम्मा लगाइएको हो।
सन्देश मिनर वाटर कम्पनीको पानी शुद्धिकरण गर्ने आरो, फिल्टरलगायत उपकरणहरु लेउ लागेको तथा कुहिएको अवस्थामा भेटिएको थियो। त्यस्तै अक्वा स्टिम मिनरल वाटर कम्पनीले भने खोलाको पानी शुद्धिकरणबिनै जारमा भर्ने गरेको देखिएको छ।
विभागले बुधबार गरेको बजार अनुगमनका क्रममा थप १ पानी कम्पनीलाई कारबाही गरेको छ। व्यापार व्यवसायको बिलबिजकबिनै कारोबार गरेको भन्दै विभागले सामाखुशीको परिवेश महत पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।