काठमाडौं- एउटा बैंकको एटिएम अर्को बैंकमा प्रगोग गर्दा लाग्ने शुल्क लिन नपाउने व्यवस्था कायमै रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ। अर्को निर्देशन जारी नभएसम्म एउटा बैंकको एटिएम अर्को बैंकमा प्रगोग गर्दा लाग्ने शुल्क लिन नपाइने व्यवस्था कायम रहेकाे नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।
कोभिड नियन्त्रण तथा रोकथाम गर्ने क्रममा एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा तथा सम्पूर्ण डिजिटल कारोबारमा लाग्ने शुल्क हटाइएको थियो। लकडाउन खुला भएसँगै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र लघुवित्त संघले उक्त शुल्कलाई स्वेच्छिक बनाएका थिए। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् उक्त शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिएको थियो।
लकडाउन खुला भए पनि कोभिडको असर बाँकी नै छ। त्यसैले भिडभाड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको जनाइएकाे छ।
नेपाल राष्ट्र बैंकले कुनै पनि निर्देशन जारी नगर्दै नेपाल बैंकर्स संघले डिजिटल कारोबारमा लाग्ने शुल्क निःशुल्क बनाएको प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। डिजिटल कारोबारका क्रममा बैंकको पनि खर्च लाग्ने हुँदा लकडाउन खुकुलो हुने बित्तिकै यसमा लाग्ने खर्चमा स्वेच्छिक बनाइएको शर्माले जानकारी दिए। संघले स्वचेछिक बनाए पनि नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्नुपर्ने भएकाले निःशुल्क हुने उनले जनाए।
डिजिटल कारोबार गर्ने क्रममा बैंकको खर्च हुने भएकाले यसमा लाग्ने शुल्क भने नहट्ने उनले बताए। नेपाल राष्ट्र बैंकले निःशुल्क बनाउने व्यवस्था हटाएसँगै बैंकहरुले पुनः यस्तो शुल्क लिन सक्ने छन्। तर, अहिलेलाई भने पाउने छैनन्।
नेपाल सरकारले साउन ७ गतेदेखि लकडाउन खुला गरेको छ। सवारीसाधनमा जोर विजोर प्रणाली हटाएर आवागमनमा सहजता प्रदान गरिएकाे छ। भदौदेखि अन्तर जिल्ला सार्वजनिक यातायातलाई पनि खुला गर्ने निर्णय सरकारले गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।