काठमाडौं- लगातार सुधार भइरहेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा शेयर बजार १७.५० अंकले घटेको छ। बुधबार कारोबार सुरु हुँदा केही अंकले सुधार देखिए पनि २५ मिनेटदेखि नै रातो देखिएको थियो। लकडाउनपछि खुलेको शेयर बजार लगातार बढिरहेको थियो।
एक महिनाको अवधिमा २९० अंकभन्दा माथिको सुधार देखिएपछि लगानीकर्ताहरुले अहिलेसम्म आर्जन भएको नाफा बुक गर्न थालेका हुन्। अधिकांश लगानीकर्ताले नाफा बुक गर्न खोज्दा विगत दुई कारोबारको नै बजार घटेको छ।
नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री मोनिटरी पोलिसी ल्याउनेमा सबै लगानीकर्ता ढुक्क थिए। यसले गर्दा मोनिटरी पोलिसी आउनु अगाडि नै शेयर बजार सुधार भइसकेको थियो। बजार बढ्ने विश्लेषणसहित शेयर किनेका लगानीकर्ताले सकारात्मक मोनिटरी पोलिसी आउने बित्तिकै नाफा बुक गर्न खोज्दा शेयर बजार घटेको हो।
पछिल्लो समय बीमा तथा लघुवित्तका शेयरधनीले राम्रो मुनाफा आर्जन गरेका छन्। लकडाउनपछि कारोबार नै ढप्प भएका तीनवटै होटलको शेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ। त्यस्तै ओरियन्टल होटलको भने सर्किट नै लागेको छ।
बुधबार ३२ वटा कम्पनीको शेयर मूल्य सुधार देखिए पनि १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटाको मूल्यमा परिवर्तन देखिएन। सबैभन्दा धेरै मूल्य घट्नेमा केही लघुवित्त र जलविद्युत कम्पनी छन्। सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तको कारोबार भएको छ। संस्थाको मात्रै १८ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।
बुधबार एक खर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ। लगानीकर्ताको सहभागिता बढ्न थालेसँगै दोस्रो बजारमा कारोबार रकममा केही सुधार आइरहेको छ। संस्थागत तथा साना लगानीकर्ता नै बजारमा फर्केका छन्।
नेप्से सूचक १.२१ प्रतिशतले घटेर १४३२.४५ अंकमा झर्दा होटल र म्युचुअल फण्डको सूचकमा मात्रै सुधार आएको छ। सबैभन्दा धेरै वाणिज्य बैंक र अन्यको सूचकमा गिरावट देखिन्छ। नेपाल सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि लगाएको प्रतिबन्ध बिस्तारै खुकुलो बनाउदै लगेको छ।
यसले लगानीका नयाँ अवसरहरु पनि देखा पर्दैजानेछ। अर्कोतर्फ सम्पुर्ण लगानीकर्ता ब्रोकर कार्यालय तथा वित्तीय संस्थामा पुग्न सक्ने भएका छन्। यसले पनि शेयर बजारमा केही चहल पहल ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।