किन्सासा- कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेका छन्। उनले व्यावसायिक कृयाकलाप, विद्यालय र सीमाहरु खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका हुन्।
करिब ८ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता मात्र ८ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९६ जनाको मृत्यु भएको छ।
राष्ट्रपति चिसेकेडीले अफ्रिकामा कोरोना संक्रमितको संख्याका दृष्टिले नवौं स्थानमा परेको मुलुक रहेको बताउँदै मुलुकलाई लामो समय लकडाउनमा राख्दा मुलुकको आर्थिक स्थिति अझ कमजोर हुने देखिएपछि सबै किसिमका प्रतिबन्धहरु बिस्तारै हटाउन लागिएको जानकारी दिएका हुन्।
कंगो सरकारले गत मार्च २४ मा स्वास्थ्य आपतकाल घोषणा गर्दै सीमाहरु पनि बन्द गरेको थियो। साथै संक्रमण फैलिन सक्ने भन्दै विद्यालयहरु, बार र रेस्टुराँ बन्द गरिएका थिए।
सरकारको नयाँ आदेशअनुसार अब बुधबारदेखि सबै पसल, बैंक, रेस्टुराँ र बार खुला हुनेछन् भने सार्वजनिक यातायात खुला गरिने तथा ठूला सभाहरु पनि गर्न पाइनेछ।
विद्यालय र विश्वविद्यालयहरु आगामी अगस्ट ३ बाट पुनः खुल्नेछन् भने विमानस्थल, बन्दरगाह, सीमा र मठमन्दिरजस्ता धार्मिक स्थलहरु आगामी अगस्ट १५ देखि खुल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।