काठमाडौं- पछिल्लो समय भारी वर्षाका कारण नेपालमा सलहकाे गतिविधि सुस्ताए पनि विभिन्न जिल्लामा स–साना झुण्डहरु अझै बाँकी रहेकाे पाइएकाे छ। नेपालमा सलहको आक्रमण सम्बन्धमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकाे विवरणअनुसार पछिल्लो समय भारी वर्षाका कारण यिनीहरुको गतिविधि सुस्ताए पनि विभिन्न जिल्लामा स–साना झुण्डहरु भने अझै बाँकी छन्।
केन्द्रका अनुसार सुर्खेत उपत्यका तथा आसपासका क्षेत्रमा र दैलेखको भगवतीमाई तथा जाजरकोटसम्म पुगेका सलहका झुण्ड मौसमको प्रतिकूलताका कारण बालीनालीमा क्षति नगरी आसपासका जंगलमा आश्रय लिएर बसेका छन्। कन्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा अवतरण गरेको झुण्ड सीमावर्ति भारत तथा नेपालको भूभागमा आउने जाने गरिरहेका छन्। त्यो क्षेत्रमा बढी सजगताका कारण धेरै क्षति गर्न नसकेको केन्द्रले जनाएको छ। यसको केही अंश डडेल्धुरा तथा बैतडीसम्म पुगेको भएपनि त्यसबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।
त्यस्तै प्युठान जिल्ला हुँदै गुल्मी, बागलुङलगायतका क्षेत्रमा प्रवेश गरेको सलहको झुण्ड मंगलबार साँझ स्याङ्जाको पुतलीबजार क्षेत्र हुँदै पूर्व उत्तरतर्फ लागेको छ। उक्त झुण्डले रातिमा जङ्गलमा आश्रय लिएको र आज (बुधबार) स्याङ्जा तथा तनहूँका आसपासका क्षेत्रमा आक्रमण गर्न सक्ने सम्भावना देखिएको छ। यी क्षेत्रमा सजगता अपनाउन कन्द्रले आग्रह गरेका छ।
नेपालमा भित्रिएका सलहका झुण्डहरु अझै केही दिनसम्म नेपालमै रहन सक्ने देखिएको छ भने केहि झुण्डहरु हावाको बहावसँगै पूर्व तथा उत्तरतर्फ अगाडि बढ्ने क्रममा चीनको तिब्वतमा नेपालको सिमानाभन्दा १० किलोमिटर उत्तरसम्म पुगेका छन्। छरिएका सलहहरुबाट बालीहरुमा धेरै नोक्सानी नहुने भएता पनि झुण्डको रुपमा रहेका सलहहरु अझै केही दिन नेपालमै रहन सक्ने देखिन्छ। भारतको राजस्थानबाट उत्तर प्रदेशतर्फ अगाडि बढेका सलहका झुण्डहरुसमेत नेपालमा प्रवेश गर्न सक्ने केन्द्रले जनाएको छ। वर्षात् भइरहेको समयमा तथा रातको समयमा सलह स्थानान्तरण गर्न नसक्ने भए पनि हावाको बहावसँगै प्रवेश गर्न सक्ने सम्भावना छ।
एफएओको पछिल्लो पूर्वानुमानअनुसार भारतको राजस्थानमा रहेका सलहका झुण्डहरु जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयरतर्फ अगाडि बढ्न सक्ने दखिएको छ। उक्त सलहका झुण्डहरु पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट वायुसँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।