सांकेतिक तस्बिर
ताप्लेजुङ-अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गए राति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।
उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ। यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ। सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो।
यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल रु १२ लाख र काठको पुल रु दुई लाखको लागतमा निर्माण भएको थियो। यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् ।
तमोरमा करिब एक दशक यताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।