काठमाडाैं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चाेकमा बाढी पहिराे प्रभवित क्षेत्रमा भएकाे राहत वितरण र पुनर्स्थापनाका बारेमा चाेसाे लिएका छन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग भोटेकोशी बाढी पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिएका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरोसम्बन्धी तथ्यांकका आधारमा सिन्धुपाल्चोक पहिरोका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको जानकारी दिए। पोखरेलले सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए।
पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकारमार्फत् जानकारी दिने तयारी भइरहेको बताए। भेटमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्धार र पुनर्स्थापनाकाे तयारीबारे पनि चासो राखे। जवाफमा प्रमुख पोखरेलले आगामी बिहीबार बस्ने कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गर्ने जानकारी दिए।
उनले तिब्बतकाे केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताए। प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेलको भनाई छ।
छलफलमा तीन दिनसम्म बाह्रबिसे र भोटेकोशीको स्थलगत अवलोकन र राहत उद्धारमा सहभागी भएर फर्किएका नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा सुबोध, नेकपा नेता सरल सहयात्री र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र बाढी पहिरोले गरेको क्षति र प्रभावित स्थानीयले भोग्नुपरेको अप्ठेरोबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।