काठमाडौं- पछिल्लो ३ दिनदेखि देशभर भइरहेको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आएको बाढी-पहिरोले राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा हुने तरकारी तथा फलफूलको आपूर्ति घटेको छ। औसत दैनिक ५ सयदेखि साढे ५ सय मेट्रिक टनसम्म फलफूल र तरकारी कालीमाटी आउने गरेकोमा सोमबार ३ लाख २७ हजार र मंगलबार दिउँसो ३ बजेसम्ममा १ लाख १५ हजार मेट्रिक टन तरकारी तथा फलफूलमात्रै आएको छ।
तुलनात्मक रुपमा आज आपूर्ति घटेको कालीमाटी फलफूल तथा बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। ‘पछिल्लो समय त्यसै पनि कम आइरहेको थियो। यो समयमा उत्पादन पनि घट्छ। अहिले विभिन्न राजमार्गमा भएको अवरोधले तरकारीको आपूर्ति त स्वभावतः रुपमा घट्ने नै भयो,’ श्रेष्ठले भने।
साउन १ गते ४ लाख ९ हजार २ सय, २ गते ५ लाख ४३ हजार, ३ गते ४ लाख ७३ हजार, ४ गते ४ लाख ९० हजार र ५ गते ३ लाख २७ हजार मेट्रिक टन तरकारी तथा फलफूल कालीमाटीमा आएको थियो। तर, साउन ६ गते दिउँसो ३ बजेसम्म १ लाख १५ हजार मेट्रिक टन मात्रै आइपुगेको छ।
उपत्यकामा मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत उपत्यका वरीपरिका जिल्लाबाट पनि तरकारी आपूर्ति हुँदै आएको छ। ‘पालुङतर्फ अवरुद्ध नभएका कारण त्यहाँबाट सामान आइरहेको छ। पाँचखाल काभ्रे क्षेत्रबाट पनि तरकारी आइरहेको छ। पूर्वी तराईका जिल्लाबाट बिपी राजमार्ग हुँदै आउने पनि भनेको छ,’ उनले भने।
पछिल्लो समय भारतबाट आयात हुने तरकारी पनि घट्दो क्रममा छ। ‘अहिले भारतबाट सबै किसिमको तरकारी अहिले आउँदैन। प्याज, कागती, फलफूल, माछालगायत वस्तु आउने हो। सडक अवरुद्ध भएका कारण व्यवसायीहरुको भारतबाट आएको सामान बीच बाटोमै रोकिएको छ,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।