काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हवाई टिकट बुकिङ खुल्ला गरेको छ। सरकारले भदौ १ गतेबाट आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै बुद्ध एयरले हवाई टिकट खुल्ला गरेको हो।
बुद्ध एयरले सबै गन्तव्यको लागि टिकट बुकिङ खुल्ला गरेको हो। बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्ने गरी टिकट बुकिङ खुल्ला गरेको जनाएको छ।
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले भने एयरलाइन्स कम्पनीले अहिले नै टिकट बुकिङ खुल्ला गर्न नपाउने बताएको छ।
प्राधिकरण महानिर्देशक राजन पोखरेलले प्राधिकरणले बुधबार र बिहीबार छलफल गरेर आन्तरिक उडान कसरी, कति र कुन गन्तव्यबाट सुरु गर्ने निर्णय गर्ने हुँदा अहिले नै टिकट बुकिङ खुल्ला गर्नु नहुने जानकारी दिए।
सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरे पनि प्राधिकरणले उडानको लागि सर्कुलन नै जारी नगरेको अवस्थामा के आधारमा निजी हवाई सेवा प्रदायक कम्पनीले टिकट बुकिङ खुल्ला गरे आफूलाई जानकारी नभएको पोखरेलले जानकारी दिए। प्राधिकणले विमानस्थलका कर्मचारीलगायत हवाई सेवा प्रदायसँग छलफल गरेर निश्चित सेक्टरबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको उनको भनाइ छ।
प्राधिकरण महानिर्देशक पोखरेलका अनुसार सुरुवाती चरणमा २५ प्रतिशतसम्मको उडान हुन सक्छ। ‘प्राधिकरणले कुन–कुन सेक्टरमा कति उडान गर्ने भन्ने विषयमा केही दिनभित्रै सूचना जारी गर्छ,’ पोखरेलले भने, ‘उडान सुरु गर्दा एकै पटकमा नेपालबाट उडान भइरहेका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान हुन सक्दैन। प्राथमिकताको सेक्टरमा न्यूनतम संख्यामा सुरक्षा सम्बन्धित सबै निर्देशिका पालन गर्दै उडान सुरु हुन्छ।’
उडान गर्दा स्वास्थ्यसम्बन्धी नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको कोभिड–१९ सम्बन्धी वायुसेवा, विमानस्थल, हवाईसँग सम्बन्धित तथा अन्य सेवा सञ्चालन मार्ग निर्देशन अनुसार हुने महानिर्देशक पोखरेल बताउँछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलको स्तरीय कार्यविधि र वायुसेवा कम्पनीले जारी गरेको सुरक्षासम्बन्धी निर्देशिका पूर्णरुपमा पालन हुने गरी आन्तरित तथा अन्तर्राष्ट्रिय उडान पहिलो २५ प्रतिशतको हाराहारीबाट सुरु हुने पोखरेलले नेपाल लाइभसँग बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।