काठमाडाैं- राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको चिनियाँ जहाजको उडान बन्दसँगै नयाँ तवरबाट आन्तरिक उडान गर्ने तयारी थालेको छ। निगम सञ्चालक बोर्डले आन्तरिक उडानमा प्रयोग भएका चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णयसँगै आन्तरिक उडानको नयाँ कार्ययोजना तयार पार्न निगम व्यवस्थापनलाई जिम्मा दिएको छ।
निगम सञ्चालन बोर्डले साउन १५ गतेबाट आन्तरिक उडानमा प्रयोग गर्दै आएको ६ वटा चिनियाँ जहाजबाट हुने सबै उडान बन्द गर्ने निर्णय असार १६ गते बसको बैठकले निर्णय गरेकाे थियो। उक्त निर्णयसँगै निगम सञ्चालक बोर्डले चिनियाँ जहाजको विस्थापन गर्दा अवरोध हुने आन्तरिक उडानलाई सुचारु गर्न ‘इन्टिग्रेडेट डोमेस्टिक विजनेश प्लान विथ रिप्लेस्मेन्ट फर एमए६० एण्ड वाई १२ एयरक्राफ्ट’ प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। उक्त प्रतिवेदन साउन १५ गतेसम्म तयार पारी बोर्डमा पेस गर्न समेत व्यवस्थापनलाई निगम सञ्चालक बोर्डले निर्देशन दिएको छ।
चिनियाँ जहाजको व्यवस्थापनपछि निगमसँग आन्तरिक उडानका लागि अब ३ वटामात्रै टि्वनअटर जहाज छन्। त्यसमा पनि एउटा टि्वनअटर जहाज ग्राउन्डेड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।