काभ्रे- चीनको खासा क्षेत्रमा रहेको 'केरुङ च्छो' ताल अविरल वर्षाका कारण फुट्न सक्ने भन्दै सुनकोशी नदी किनारमा बासोबास गरेकाहरुलाई सुरक्षित हुन आग्रह गरिएकाे छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सूचना जारी गर्दै काभ्रे जिल्लाको सुनकोशी नदीमा समेत जल प्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकाले सर्वसाधारणलाई नदी किनारमा नजान र किनारमा रहेका बस्तीहरुलाई सतर्क रहन आग्रह गरेको छ।
उक्त ताल फुटेमा सिन्धुपाल्चोकको भोटेकोशी नदीको प्रवाह वृद्धि हुने र सुनकोशीसँग मिसिएकाले साे क्षेत्रमा बसोबास गरेका मानिसहरुलाई सतर्क रहन आग्रह गरिएको हो। अविरल वर्षाका कारण ताल भरिएको र जुनसुकै समयमा फुट्न सक्ने चिनियाँ सूचनापछि सोमबार नै सिन्धुपाल्चोक जिल्ला प्रशासनले पनि सूचना जारी गरेको थियो।
चीनको न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको चिनियाँ पक्षले जानकारी गराएकाे थियाे। सो ताल फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाव अत्याधिक बढ्ने छ। सो ताल फुटे भोटेकोशी नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायतका स्थानीय तहका बजार तथा मानव बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने सा्भावना रहेकोले सतर्क रहन जिल्ला प्रशासनले आग्रह गरेको हाे।
सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन र भोटेकोशी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउनसमेत आग्रह गरिएकाे छ।
चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ च्छो ताल खासाबाट केही माथि रहेको छ। २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो। त्यसबेला करिब डेढ सय घरका संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।