काठमाडाैं- आगामी शुक्रबारसम्म मनसुन सक्रिय रहने भएकाे छ। त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने मौसम विज्ञान विभागले जनाएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजु वैद्यले साउन ९ गते (शुक्रबार)सम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताए।
हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको विभागले जनाएको छ। विभागका अनुसार हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराेका घटना बढेको हो।
विभागका महानिर्देशक वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताए। विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ।
मनसुन सुरु भएयता प्रदेश नम्बर १, २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ। विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ। नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोर नदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन आग्रह गरिएकाे छ।
आज सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उनले बताए। आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ। विभागले बाढीको पूर्व सूचनासमेत प्रदान गरिरहेको छ। मनसुन सुरु भएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएसमार्फत् पूर्व सूचना दिइएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।