दार्चुला- दार्चुलामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको हाे।
घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिंह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।
यस्तै घटनामा परी घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।
घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकाेप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाइ हुन्।
उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुरपस्ती आएका हुन्। घाइतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।