काठमाडौं- आइबार रातिदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुँदा बाढी पहिरोको उच्च जोखिम बढ्दै गएको छ। न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेकाले देशैभर अविरल वर्षा भइरहेको हो। मंगलबार र बुधबार प्रदेश एक, दुई, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाको प्रक्षेपण छ।
सोमबार राति देशैभर पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने आँकलन गरिएको छ। तर, प्रदेश- १, प्रदेश- २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश- ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। तर, कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तो मौसम मंगलबार र बुधबार
मंगलबार दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तर, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ। यस्तै मंगलबार राती देशभर पूर्ण बदली भई धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तर, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै बुधबार दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै बुधबार राती देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार २४ घण्टामा तीन जनाको मृत्यु
बाढी पहिरोका कारण सोमबार २४ घण्टामा मात्रै तीन जनाको मृत्यु भएको छ। कालिकोटको पचालझरना गाउँपालिका- ३ खारदु जंगलका काठ चिर्न गएका एक जनाको पहिरोले पुरेर एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै दार्चुलाको नौगाड गाउँपालिका- ६ स्थित परिगाउँ खोलामा पानीको बहाव बढ्दा तीन घर बगाउँदा एक जनाको मृत्यु हुनुका साथै एक जना अझै बेपत्ता छन्। यस्तै काठमाडौंको कागेश्वर मनहरा नगरपालिका-१ गागलफेदीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। मनसुन सुरु भएको जेठ ३० गते यता बाढी, पहिरो र चट्याङबाट १ सय ३१ जनाको मृत्यु भइसकेको छ। तर, बाढी पहिरोबाट मात्रै ४८ जना अझै बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। प्राकृतिक प्रकोपबाट हरेक वर्ष पाँच सयको हाराहारीमा मृत्यु हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।