प्रतीकात्मक तस्बिर
काठमाडौं- गत फाल्गुन २६ गते शिवरात्रीका दिन १३ वर्षीया बालिका हराइन्। ती बालिकालाई काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिने भनि फकाइफुलाई भारतको ओसान भन्ने ठाउँमा लगेर बेचेकाले उद्धार गरी पाऊँ भन्दै गत जेठ १६ गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनकी भाउजूले निवेदन दिइन्।
ब्यूरोले जेठ २९ गते भारतीय प्रहरीको समन्वयमा बालिकालाई उद्धार गरी बेचबिखनमा संलग्न २ जनालाई पक्राउ समेत गरिसकेको छ। प्रतिवादीहरु हाल पुर्पक्षका लागि थुनामा रहेको ब्यूरोले जनाएको छ।
त्यस्तै कुवेत, इराक र साउदीमा राम्रो कामको प्रलोभनमा भारत पुर्याएर बन्धक बनाएका ६ जना महिलाहरुलाई असार १६ गते ब्यूरोले उद्धार गरेको छ। उनीहरुलाई लकडाउन अवधिमा काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगञ्ज सिमानाबाट भारतको राजधानी दिल्ली सहरको बुरारी जेरदा भन्ने ठाउँमा पुर्याइएको पाइएको छ। त्यहाँ एउटा घरको कोठामा राखी शारीरिक तथा मानसिक यातना दिएर राखेको अवस्थामा विभिन्न संघसंस्थाको समन्वयमा ब्यूरोले उनीहरुलाई उद्धार गरेको हो।
भारतबाट नै विभिन्न संस्था तथा भारतस्थित नेपाली दूतावाससँगकाे सहकार्यमा असार ३१ गते २१ जना महिलाहरुलाई उद्धार गरिएको छ। लकडाउन अवधिमा मात्रै बेचबिखन तथा ओसारपसारमा परेका १ बालिकासहित ४१ जना नेपालीहरुको उद्धार गरिएको ब्यूरोले जनाएको छ।
मानव बेचखिन अनुसन्धान ब्यूरोले बेचबिखन तथा तस्करीका लागि भारत पुर्याइएका २८ र बेचबिखनका लागि लैजाने तयारीमा रहेका १३ जनाको नेपालबाटै उद्धार गरेको हो। नवलपरासी, कैलाली, सुनसरी, चितवन, कास्कीबाट २/२ जना र मकवानपुर, बर्दिया, बाँकेमा १/१ गरी बेचबिखन तथा ओसारपसारका लागि लैजान लागिएका १३ जनाको उद्धार गरिएको हो। प्रतिवादीमाथि कानुन बमोजिम कारबाही भइरहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।