काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएका खाद्य वस्तुहरु खरिद गर्ने तयारी गरेको छ। कर्णाली क्षेत्रमा उत्पादन भएका अर्गानिक उत्पादनलाई बजार प्रवर्द्धन गर्ने उद्देश्यले यसअघि सरकारले त्यहाँ उत्पादन भएका सिमी र फापर खरिद गर्दै आएकोमा अब जुम्ली मार्सीलगायत अरु धान, भटमास, मास, गहतलगायत दालजन्य वस्तु पनि खरिद गर्ने भएको हाे।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा कर्णालीमा उत्पादन भएका खाद्य वस्तुहरु खरिद गर्ने तयारी गरेको हो। कम्पनीले अहिले कर्णालीको सिमी र फापर मात्र खरिद गररहेकोमा अब अरु वस्तुहरु पनि किन्ने तयारी गरिरहेको कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले बताए। ‘कर्णालीमा उत्पादित वस्तुको बजार प्रवर्द्धनका लागि त्यहाँका उत्पादन हामीले खरिद गर्ने सोच बनाएका छौं। त्यस्ता वस्तुको यहाँ बजार पनि छ। यो वर्ष कुन–कुन वस्तु खरिद गर्ने भनेर छनौट गर्ने चरणमा छौं,’ सुवेदीले भने।
कर्णालीका उत्पादन खरिद गर्नका लागि खाद्य व्यवस्था कम्पनीले यसवर्ष १ करोड रुपैयाँ छुट्याएको छ। कम्पनीले उपत्यकाका लागि बागमती अञ्चल कार्यालयको गोदाम थापाथलीबाट १ र २ किलोग्रामका प्याकेट बनाएर फापर र सिमी बिक्री वितरण गर्दै आएको छ भने अनलाइनमार्फत् पनि बिक्री वितरण गरिरहेको छ।
कर्णाली क्षेत्रमा उत्पादन भएका अर्गानिक उत्पादनलाई बजार प्रवर्दधन गर्ने तथा त्यहाँका किसानको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यले कम्पनीको डोल्पा बाहेक कर्णालीका सबै जिल्लामा कृषि उपज वस्तुहरुको संकलन केन्द्रहरु स्थापना गरिएका छन्। यी केन्द्रले अब सिमी र फापरका अलावा अरु खाद्य वस्तु पनि संकलन गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।