काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिवविहीन भएका छन्। शिक्षा मन्त्रालय चैत २४ देखि, सञ्चार जेठ २ देखि र श्रम मन्त्रालय जेठ ११ गतेदेखि सचिवविहिन भएका हुन्।
शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधितर्फका सचिव सञ्जय शर्माले कार्यभार चलाइरहेका छन्। रिक्त रहेको सञ्चार मन्त्रालयमा गोकर्णमणि दुवाडीलाई निमित्त सचिव बनाएको छ। तीन वटा मन्त्रालय सचिवविहिन भइरहँदा दुई जना सचिव भने अतरिक्त रहेका छन्।
सचिव विष्णुप्रसाद नेपाल र मानबहादुर बिकलाई कुनै कार्यभारको जिम्मा दिएको छैन। सरकारले असार २९ गते मानबहादुर बिकलाई सचिवमा बढुवा गरेको थियो।
केही समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाल कायम दुई/दुई जना सचिवको दरबन्दीमध्ये एउटा मात्रै राख्ने सरकारले तयारी गरेको बताइएको थियो। शिक्षा मन्त्रालयमा हालसम्म २ सचिव रहने व्यवस्था भए पनि सञ्चार र श्रम मन्त्रालयमा भने एक जना मात्रै सचिव रहने व्यवस्था छ।
प्रदेश सचिव काठमाडौं आउन सक्ने भए पनि सरुवा हुन पाएका छैनन्। प्रदेश सचिवमध्ये वरीयतामा सबैभन्दा माथि गण्डकीका प्रदेश सचिव छन् भने प्रदेश ५ र बागमती प्रमुख सचिव त्यसपछिको बरियतामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।