बर्दिवास- ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु ६ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आँसु झार्दै भनिन्, '७ वर्षकी छोरीको खुसी चोरलाई सह्य भएनछ।'
महोत्तरी, औरही नगरपालिका–१ की रहिशाका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि हाल बर्दिवास–१ को साझा संस्था भवन अगाडि फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आएकी छन्। त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरीदिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन्। रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो।
'नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै फुर्तिली बन्दै आएकी थिई', रहिशाले भनिन्, 'उहाँले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भन्नुभएको थियो।'
उनका छोरा सद्दाम सानै छन् भने शवनम र जाविर (ठूलो छोरा) नियमित स्कुल गइरहेका छन्।
'नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो', उनले भनिन्, 'उहाँले दिनुभएको पैसा त चोरेका छन्, तर हामीलाई दिएको माया त हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु।'
गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार (सार्की) जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा भर्ना गराएर अभिभावकत्व लिएका थिए।
'उहाँले तीन वटै नानीहरुलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ', रहिशाले भनिन्, 'यसपालि अब माङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।