सर्लाही-आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घर डुबानमा परेका छन् । भारी वर्षाले मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन्।
मलङ्गवाको बाल मन्दिर, नगरपालिका चाेक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन। निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन्। जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ। खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत सुरु गरेको जिल्लाका किसानहरुले बताएका छन्।
गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनकाे भनाइ छ।
मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ। यस्तै वर्षाको पानीले जिल्लाको पूर्व-पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ। सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।