काठमाडौं- धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। धितोपत्र बार्डका अध्यक्ष भिष्मराज ढुंगानाले आइतबार उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
चालु आर्थिक वर्षमा कोभिड १९ महामारीका कारण धितोपत्र बजारमा परेको असरलाई न्यूनीकरण गर्दै बजारलाई विकास र बिस्तार कायम राख्ने गरी नीति तथा कार्यक्रम ल्याएको बोर्डले जनाएको छ। धितोपत्र बजारमा मागको सिर्जना गर्ने, प्राथमिक तथा धितोपत्रको दोस्रो बजारलाई प्रविधिको प्रयोगमार्फत् आधुनिक तथा सुविधासम्पन्न बनाउने र लगानीका थप अवसरहरु सिर्जना गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष ढुंगानाले बताए।
ढुंगानाका अनुसार पुँजी बजार विकासको लागि ल्याइएको ५८ बुँदे सुझावमध्ये धितोपत्र बोर्डले हालसम्म ६८ प्रतिशत सुझाव कार्यान्वयनमा ल्याइसकेको छ। सुझावमा भएका बुँदालाई चालु आर्थिक वर्षमा कार्यान्वयनका लागि धितोपत्रले काम गर्ने उनले बताए। तर, कोभिड १९ महामारीका कारण बोर्डले सार्वजनिक गरेको कार्ययोजना कार्यान्वयनमा भने चुनौती देखिने अध्यक्ष ढुंगानाको भनाई छ।
नीति तथा कार्यक्रममा सार्वजनिक कम्पनीहरुको संस्थागत ऋणपत्र कारोबारलाई प्राथमिकतामा राखिएको छ। ऋणपत्र कारोबारका लागि यस वर्षभित्रै नियमावली बनाउने र दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै चालु आर्थिक वर्षभित्रै एकीकृत ग्राहक कार्ड र बुक बिल्डिङ प्रणालीबाट मात्रै प्राथमिक सेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्ता छन् धितोपत्र बोर्डले ल्याएका अरु नीति तथा कार्यक्रमः
– धितोपत्रको राफसाफ ‘टि प्लस २’ प्रणालीमा आधारितमा कारोबार गर्ने व्यवस्था मिलाउने।
– ऋणपत्रका लागि छुट्टै नियमावली बनाई संस्थागत ऋणपत्रको दोस्रो बजारमा प्रवेश गराउने।
– धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहनको नीति अबलम्बन गरिने।
– सर्ट सेलिङसँग सम्बन्धित विषयमा आवस्यक अध्ययन गर्ने।
– एकिकृत ग्राकह कार्ड वितरण गर्ने।
– प्राथमिक सेयरको आइपिओ बुक बिल्डिङ प्रणालीबाट जारी हुने व्यवस्था मिलाउने।
– बोर्डको संस्थागत एवं नियमन क्षमता बढाउन तथा धितोपत्र बजार र वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण व्यवस्थापनका लागि आवश्यक कानुनी एवं नीतिगत संरचना तयार पार्ने।
– चालु आर्थिक वर्षभरिमा ४० वटा विकासात्मक कार्यक्रम सम्पन्न गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।