काठमाडौं– भान्जाको अपहरण गरी हत्या गरेर फरार भएका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मझफपुर नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्ता छन्।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलील शनिबार सर्लाहीको मलंगवाबाट पक्राउ गरेको हो। उनले भारत बिहार राज्य सितामणी जिल्ला मुझफरपुर स्थायी घर भई काठमाडौं–२२ खिचाँपोखरी बस्ने ११ वर्षीय आफ्नै भान्जा रोहित गुप्ताको अपहरण गरी हत्या गरेका थिए।
राई स्कुल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत रोहितको २०६४ असोज २४ गते साँझ ५ बजे अपहरण भएको थियो। अपहरण पश्चात राति साँढे ८ बजे अपरिचित व्यक्तिले टेलिफोन गरी उनका बाबु बासुदेव गुप्तासँग छोरा अपहरणमा परेको र २ लाख ५० हजार रुपैयाँ फिरौती दिए मात्रै छोरा छोड्ने धम्की दिएका थिए। सोही अनुसार फिरौती रकम बुझाए पनि बालक अपरहण मुक्त भएका थिएनन्।
बेपत्ता बालको खोजी गर्ने क्रममा दुई दिनपछि २७ गते राति सवा ८ बजे हत्या गरी कमलादीस्थित गणेश मन्दिर नजिकको सडकमा प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा भेटिएको थियो। अनुसन्धानको क्रममा बालक आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेश कुमार गुप्ता भएको पाइएको थियो।
राजेशकै पसलमा काम गर्ने धादिङ घर भएका विष्णु सुनार समेतको संलग्नतामा जादु सिकाउने बाहानामा बालकलाई बोलाइएको थियो। बालकलाई आफ्नो कोठामा हात बाँधेर माइला भन्ने विष्णु सुनारले नाइलनको डोरीले घाँटीमा थिची हत्या गरेको पाइएको थियो। हत्या गरिसकेपछि उनीहरुले मृतकको बुबासँग फिरौतीबापत २ लाख रुपैयाँ लिएका थिए। थानकोट त्रिभुवन पार्कमा रकम बुझेर उनीहरु ट्याक्सी चढेर फरार भएका थिए।
उनीहरुले बालकको हत्या पश्चात शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादी गणेशस्थान नजिक सडकमा पुर्याउन लगाएर फ्याँक्न लगाएका थिए।
बालकको अपहरण गरी हत्या गर्ने मामा राजेश भने मृतकको बुबा बासुदेव गुप्तालाई समेत झुक्यानमा पारी उनीसँगै अपहरणकारी खोज्न भन्दै प्रहरी कार्यालयसम्म पुग्ने गरेका थिए। पछि अनुसन्धानको क्लु उनी तिर सोजिन लागेको चाल पाएपछि उनी फरार भएका थिए। घटनामा संलग्न विष्णु सुनारलाई प्रहरीले २०६४ मंसिर १२ गते पक्राउ गरेको थियो। तर गुप्ता भने फरार हुँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।