काठमाडौं- आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्पुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो।
महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा-८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताए। अभियुक्त गुप्ताले २ लाख ५० हजार फिरौती मागेका थिए। पछि २ लाखमा कुरा मिलेको थियो। यद्यपि, अभियुक्त आफैंले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
'शव व्यवस्थापनपछि छठ मान्न जान्छु' भनेर उनी भारत गएको र उतै बसेको प्रहरीले बताएको छ। घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो। उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो।
वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए। शव ३ दिनपछि मात्रै फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।